![](https://nepal.ipas.org/wp-content/uploads/2023/09/family-planning_1598267085-1.jpg)
सन् २०२० सम्म परिवार नियोजनको अस्थायी साधन प्रयोगमा नयाँ पद्धति अपनाउने सरकारको घोषणा अनुरुप दुई जिल्लामा गरिएको तुलनात्मक अध्ययनले ‘सायना प्रेस’ नामको नयाँ गर्भ निरोधक साधन प्रभावकारी देखिएको छ।
देवचुली नगरपालिका–१७ गौरी नवलपुरकी ४१ वर्षीया वसन्ती पौडेलले २० वर्षदेखि प्रयोग गर्दै आएको गर्भ निरोधक परिवार नियोजनको अस्थायी साधन डिपो प्रोभेरा एक वर्षदेखि प्रयोग गर्न छाडिन्। अहिले उनी परिवार नियोजनको अर्को तीन महिने अस्थायी साधन सायना प्रेस प्रयोग गर्छिन्।
तर, उनलाई सायना प्रेस सधैँ उपलब्ध हुन्छ कि हुँदैन भन्ने चिन्ता छ। उनी भन्छिन् “सायना प्रेस प्रयोगका लागि राम्रो त छ, तर यसको उपलब्धता नभएर फेरि डिपो नै लगाउनुपर्ने हो कि भन्ने चिन्ता छ।”
यस्तो चिन्ता सोही ठाउँकी पवित्रा आचार्य (४२) लाई पनि छ। उनका श्रीमान् भारतमा रोजगारीका लागि जान्थे। कोरोनाभाइरस महामारीका कारण श्रीमान् घर फर्केपछि उनले अस्थायी साधन सायना प्रेस प्रयोग गर्न शुरु गरिन्।
त्यसअघि श्रीमान् घर आउँदा मात्र उनले परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्थिन्। अब श्रीमान् रोजगारका लागि बाहिर नजाने भएकाले आफ्नो लागि परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्नु बाध्यता रहेको आचार्य बताउँछिन्।
![](https://nepal.ipas.org/wp-content/uploads/2023/09/family-plannig_2-1.jpg)
“हामीले एउटा साधन प्रयोग गरेपछि सधैंभरि त्यही नै प्रयोग गर्न पाउनुपर्छ, कहिले एउटा, कहिले अर्को प्रयोग गर्दा हाम्रो स्वास्थ्यमा समस्या हुन्छ”, उनी भन्छिन्। आफूहरुले यो विषय स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीलाई पनि भनिसकेको उनले बताइन्। उनीहरुले स्वास्थ्यकर्मीकै सल्लाहमा सायना प्रेस लगाएका हुन्।
पौडेल र आचार्यको जस्तो सरोकार दिलमाया परियार (२९) को पनि छ। फरक फरक गर्भ निरोधक साधन प्रयोग गर्दा स्वास्थ्यमा विभिन्न समस्या हुने उनको भनाइ छ। अहिलेसम्म प्रयोग गरिएका साधनमध्ये तीन महिने सुई सायना प्रेस स्वास्थ्यका हिसाबले उत्तम लागेको उनको भनाइ छ।
सायना प्रेस प्रयोग गरिरहेका सिन्धुली र नवलपुर जिल्लाका ६ पालिकाका अधिकांश महिलाले यसैलाई निरन्तरता दिन चाहेका छन्। उनीहरु फरक फरक परिवार नियोजनका अस्थायी साधन प्रयोग गर्दा वाकवाकी लाग्ने, वान्ता हुने, महीनावारी अनियमित हुने जस्ता समस्या देखिने भएकाले स्वास्थ्यका हिसाबले सहज र सजिलो साधन उपयुक्त हुने बताउँछन्।
“सायना प्रेस गर्भ निरोधक अस्थायी साधन प्रयोगकर्ता महिलाले अन्य साधनको तुलनामा सायना प्रेस बढी रुचाएको पाइएको छ। कम दुखाइ, पाखुराबाहेक शरीरका अन्य अंगमा प्रयोग गर्न पाइने र अनियमित महिनावारीका साथै स्वास्थ्य समस्या पनि ठीक भएको प्रयोगकर्ता महिलाले जनाएका छन् । “
देवचुली नगरपालिकाको रजहर स्वास्थ्य चौकीका सिनियर अहेव वेदबहादुर दाहाल सायना प्रेस प्रयोग गरिरहेका महिलाले सधैंभरि उपलब्ध हुने वा नहुनेबारे चासो राखेको बताउँछन्। “शुरुआती चरणमा महिलाहरुले के कसो हुने हो भनेर चासो राख्नु स्वाभाविक हो, हामीले अब अरु परिवार नियोजनका साधन प्रयोग गर्न पर्दैन, भनेर आश्वस्त पारेका छौं”, उनी भन्छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिवार कल्याण महाशाखाका अनुसार ४० भन्दा बढी देशमा प्रयोग भइरहेको सायना प्रेस नेपालको लागि नयाँ हो। महाशाखा प्रमुख डा. भीमसिंह तिंकरीका अनुसार बेलायत सरकारको अन्तर्राष्ट्रिय सहयोग निकाय (डीएफआईडी) को आर्थिक सहयोगमा नेपालमा सायना प्रेसको सम्भाव्यता र अध्ययन थालिएको हो। नेपाल सरकार र आईपास नेपालले नवलपुर र सिन्धुलीका ६ वटा पालिकाका १४ वटा स्वास्थ्य संस्थाबाट भदौ २०७६ देखि सेवा शुरु गरेका छन्।
![](https://nepal.ipas.org/wp-content/uploads/2023/09/family-planning_2-1.jpg)
वसन्ती पौडेल
आईपास नेपालकी वरिष्ठ सल्लाहकार डा. ल्हामो शेर्पाका अनुसार सायना प्रेस संसारभर शुरु भएको नयाँ पद्धति हो। यद्यपि डिपो प्रोभेरामा र सायना प्रेसमा हुने औषधि र त्यसले गर्ने काम एउटै हो।
“औषधि एउटै हो, मात्रा मात्रै फरक हो। डिपोमा भन्दा सायनामा ३० प्रतिशत औषधिको मात्रा कम हुन्छ। सायना प्रेसमा सुईको टुप्पो पनि एकदमै छोटो छ। छालामा मात्र दिने भएकाले दुखाइ एकदमै कम हुन्छ,” शेर्पा भन्छिन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिवार कल्याण महाशाखाका प्रमुख तिंकरीका अनुसार यो अध्ययनमा विगतमा परिवार नियोजनका अन्य साधन जस्तै, डिपो, कपर टी, पिल्स प्रयोग गरिरहेका एक हजार ११२ महिला सहभागी भएका थिए। उनी भन्छन्, “अन्य परिवार नियोजन छोडेर सायना प्रेस रोजेका महिलाहरुलाई पुनः सायना प्रेस छोडेर अरु परिवार नियोजनका साधन प्रयोग गर भनेर हामी भन्दैनौं । बरु अहिलेसम्म प्राप्त नतिजाका आधारमा अन्य जिल्लामा पनि यो सेवा विस्तार हुनसक्छ।” नवलपुर र सिन्धुली जिल्ला बाहेक अरु जिल्लामा विस्तार गर्ने वा नगर्ने मन्त्रालयले छिटै निर्णय गर्ने तिंकरी बताउँछन्।
डिपो प्रोभेरा पाखुरामा मात्रै लगाइन्थ्यो भने सायना प्रेस पाखुराको अतिरिक्त पेट र तिघ्रामा समेत लगाउन सकिन्छ। रजहर स्वास्थ्य चौकीका सिनियर अहेव वेदबहादुर दाहालका अनुसार सायना प्रेस ०.६५ एमएल (मिलिलिटर) मा १०४ मिलिग्राम (एमजी) हुन्छ भने डिपो एक एमएलमा १५० एमजी हुन्छ।
सायना प्रेस गर्भ निरोधक अस्थायी साधन प्रयोगकर्ता महिलाले अन्य साधनको तुलनामा सायना प्रेस बढी रुचाएको पाइएको छ। कम दुखाइ, पाखुराबाहेक शरीरका अन्य अंगमा प्रयोग गर्न पाइने र अनियमित महीनावारीका साथै स्वास्थ्य समस्या पनि ठीक भएको प्रयोगकर्ता महिलाले जनाएका छन् ।
२० वर्षको अवधिमा वसन्ती पौडेलको महिनावारी ९ महीनामा मात्र हुन्थ्यो। सायना प्रेस प्रयोग गर्न थालेपछि महीनावारी डेढदेखि दुई महीना बीचमा हुन थालेको छ। “नौ महीनामा महिनावारी भयो भने छिटो मान्नुपर्दथ्यो, दुई वर्षसम्म पनि महीनावारी नभएको रेकर्ड छ,” उनी भन्छिन् “दुई पटकसम्म त औषधि खाएर महीनावारी गराउनुपर्यो।”
सायना प्रेसले स्वास्थ्यमा अत्यधिक सुधार भएको उनी बताउँछिन्। “अन्य गर्भ निरोधक साधनको प्रयोग गर्न थालेदेखि मेरो प्रेसर ९०/७० भन्दा बढी कहिल्यै भएन, अहिले पहिलोपल्ट १२०/८० पुगेको छ, रिंगटा लाग्ने र वान्ता हुने पनि ठीक भयो। अनुहारको कालोपना र दाग पनि हरायो”, उनी भन्छिन्।
![](https://nepal.ipas.org/wp-content/uploads/2023/09/family-planning_1.jpg)
रजहर स्वास्थ्य चौकीकी अनमी राधा पराजुली पोखरेल
अर्की प्रयोगकर्ता दिलमाया परियार (२९) ले गर्भ निरोधक अस्थायी साधन प्रयोग गर्न थालेको १२ वर्ष भयो। डिपो प्रोभेरा तीन महिने सुई लगाउँथिन्। सुई लगाएपछि एक हप्तासम्म पाखुरा दुखेर काम गर्न गाह्रो हुन्थ्यो। तर, सायना प्रेस लगाउँदा त्यस्ता समस्या नभएको उनी बताउँछिन्।
रजहर स्वास्थ्य चौकीकी अनमी राधा पराजुली पोखरेल सायना प्रेस प्रयोग गर्ने महिलाले सकारात्मक प्रतिक्रिया दिएको बताउँछिन्। “एक दुई जनाले सायना प्रेस प्रयोग भएपछि रगत बढी बग्यो भन्नुभयो, अध्ययन गर्दा उहाँहरुले महिनावारी भएको सात दिनपछि प्रयोग गर्दा त्यस्तो भएको पाइयो,” उनी भन्छिन्, “धेरै महिलाले दुखाइ कम, लगाउन सजिलो र महिनावारी पहिलाभन्दा नियमित भएको प्रतिकृया दिनुभएको छ।”
सायना प्रेसलाई महिला आफैंले पनि सुईको माध्यमबाट लगाउन सक्छन्। आईपास नेपालकी वरिष्ठ सल्लाहकार डा. शेर्पा सामान्य तालिमको भरमा पनि महिलाले घरमै सायना प्रेस लगाउन सक्ने बताउँछिन्। अध्ययनका क्रममा ५८४ महिलामध्ये १८६ जनाले तालिमपछि आफैं लगाउन सक्ने भएको बताएका थिए।
श्रोतः हिमालखबर, मुकेश पोखरेल, ८ भदौ, २०७७ | https://www.himalkhabar.com/news/117495?fbclid=IwAR2YfGwfbaZAZG9oRUM4bpbqm4poyH4WBjD1hMV1j7lPPbDFjUkEoLj3n98