Menu Close

परिवार नियाेजनमा अर्काे विकल्प ‘सायना प्रेस’ तीन महिने साधन नेपालमा, नवलपुर र सिन्धुलीबाट सेवा सुरु

नवलपुर- परिवार नियोजनको अस्थायी साधनका रुपमा नेपालमा अर्को नयाँ साधन पनि आएको छ। सायना प्रेस नामक तीन महिने सुई नेपालमा पनि भित्रिएको हो।
स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयको अनुमति र बेलायत सरकारकाे आर्थिक सहयाेगमा आईपास र मेरि स्टाेप अन्तर्राष्ट्रियको सहकार्यमा नेपालमा यसको परीक्षण सेवा सुरू भएको छ।
नवलपुर र सिन्धुली जिल्लामा महिलाले प्रयाेग गर्ने तीन महिने गर्भ निराेधक अस्थायी साधन सायना प्रेसको सेवा सुरू भएकाे हो।
हरेक तीन महिनामा लगाउनुपर्ने याे साधन तिघ्रा र पेटमा लगाउन सकिनेछ।
दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्र नवलपुरमा आयाेजित कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले सेवाकाे औपचारिक उद्घाटन गरिन्।
उनले भनिन्, ‘हरेक महिलालाई आमा बन्न अधिकार भएपनि कति बच्चाकाे जन्माउने,कति अन्तरमा जन्माउने भन्ने अधिकार छैन।’
परिवार नियाेजनका साधन नेपालमा सुरू भएपछि महिलाले पनि आफ्नाेबारे निर्णयले अधिकार प्राप्त गरेकाे उनकाे भनाइ छ।
हरेक महिलाले आफ्नाे अधिकारकाे लागि अडान राख्न सक्नुपर्ने भन्दै उनले भनिन्, ‘प्रदेश सरकारले सुत्केरीको घरमा स्वास्थ्यकर्मी भन्ने कार्यक्रम ल्याएकाे छ,जसले स्वास्थ्यकर्मीले सुत्केरीकाे घरमा पुगेर सेवापरार्मश दिने गरेकाे छ।’
स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयका सचिव डा पुष्पा चाैधरीले सरकारले परिवार नियाेजनका साधनमा अर्काे विकल्पकाे रूपमा सायना प्रेस सुई थप गरेकाे उल्लेख गरिन्।
‘सायना प्रेस पनि अन्य परिवार नियाेजनका साधनमध्ये एक हाे, याे प्रभावकारी छ भनेर प्रमाणित भईसकेकाे छ, त्यसैले ढुक्क भएर प्रयाेग गर्न सकिन्छ,’ उनले भनिन्।
स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखनका प्रमुख डा भिमसिंह तिंकरीले सरकारले हरेक महिलालाई परिवार नियाेजन वा परिवार याेजनाकाे निर्णय लिने अधिकार दिएकाे उल्लेख गरे।
उनले विश्वका अन्य देशमा प्रयाेगमा आइरहेकाे याे सायना प्रेस बारे महिलालाई प्रभावकारी परामर्श र तालिम दिन सकेमा आफैं लगाउन सकिने बताए।
बेलायती विकास नियाेग नेपाल प्रमुख लिजा हाेनानले याे सेवालाई छिटै महिलाहरूले परिवार व्यवस्थापनमा छनाैट गर्ने विश्वास व्यक्त गरिन्।

उनले याे अध्ययन २०२० सम्म गरिने भएपनि महिलाले रूचाएकाे खण्डमा २०२२ सम्म बेलायत सरकारले सहयाेग गर्न सकिने लैजान सकिने बताइन्।
एक पटक लगाएपछि तीन महिना गर्भ रहन राेक्ने याे सुई महिनावारी भएकाे ७ दिनभित्र अथवा महिलाले गर्भवती नभएकाे जुनसुकै समयमा तालिमप्राप्त स्वास्थ्यकर्मीबाट लगाउन सकिनेछ।
विश्वका अन्य देशमा गर्भ निराेधक सुईका रूपमा याे साधन प्रभावकारी पाइएपछि नेपालका नवलपुर (वर्दघाट-सुस्ता-पूर्व) र सिन्धुली का १४ वटा स्वास्थ्य संस्थामा याे अध्ययनका लागि सुरु गरेकाे बताइकाे छ।
अध्ययनपछि यसकाे स्वीकार्यता र राेजाईका आधारमा अन्य जिल्लामा पनि विस्तार गरिने छ।
याे साधनकाे प्रयाेगले महिनावारीका समयमा हुने दुखाइ कम गर्ने, स्तनपान गराइरहेकि महिलाले पनि प्रयाेग गर्न मिल्ने, इस्ट्राेजेन नामक हर्माेन भएको वा इस्ट्राेजेन र प्राेजेस्टेराेन भएका महिलाले पनि प्रयाेग गर्न मिल्ने र सुई लगाउन छाडेकाे केहि समय अर्थात् १०देखि १२ महिनाभित्र पुनः गर्भवती हुन सकिने बताइएकाे छ।
याे सुई गर्भवति नभएकी प्रजनन उमेरकी महिला, भर्खरै गर्भपतन भएकी महिला, स्तनपान गराई रहेकी महिला, नव विवाहित महिला, एचआईभी संक्रमित वा एड्स भएकाे वा एन्टी रेट्राे भाईरल औषधि सेवन गरिरहेका महिलाका लागि उपयुक्त हुने कार्यक्रममा जानकारी दिइएकाे छ।
सायना प्रेस सुई प्रयाेग गरेकाे केहि महिनासम्म महिनावारी अनियमित हुन सक्ने वा अरूबेला पनि छिटफुट रगत बग्ने, केहि महिलाकाे ताैल घटबढ हुन सक्ने र कसैकसैलाई डण्डिफाेर आउने, टाउको दुख्ने मनस्थिति परिवर्तन हुने जस्ता सामान्य असर देखिन सक्ने बताइएकाे छ।
तर, स्तन क्यान्सर भएकी महिला, महिनावारीमा धेरै रगत बग्ने समस्या भएका, याैन सम्पर्क गर्दा अत्याधिक रगत बग्ने बग्ने समस्या भएका महिला, कलेजाेसम्बन्धि र हड्डि खिईने समस्या भएका महिलाले याे सुई प्रयाेग गर्न हुँदैन।
हाललाई याे सुइ सिन्धुली र नवलपुरका १४ वटा सरकारी स्वास्थ्य संस्थामा तालिमप्राप्त स्वास्थ्यकर्मीबाट नि:शुल्क लिन सकिने बताइएकाे छ।
सायना प्रेस विश्वका ४० भन्दाबढि देशले प्रयाेग गरिरहेका छन्। युराेपलगायतका १७ देशका सम्बन्धित निकायहरूले सायना प्रेसलाई आफैंले लगाउन मिल्ने सुईका रूपमा अनुमति प्रदान गरेकाे कार्यक्रममा जानकारी दिईएकाे थियाे।
सायना प्रेस परिवार नियोजनका लागि मांसपेशीमा लगाइने सुई डिपो प्रोभेरा जस्तै हो तर यसमा औषधिको मात्रा ३० प्रतिशत कम हुन्छ। छालाको मुनि पर्ने गरी एकपटक मात्रै प्रयोग गर्न मिल्ने सुईको प्रयोग गरेर छोटो सुइरोको माध्यमले लगाइन्छ जसले गर्दा दुखाइ र असहजता कम हुन्छ।
यो साधनलाई फ्रिजको प्रयोग नगरी भण्डारण गर्न सकिन्छ। यसलाई विश्वका ४० भन्दा बढी मुलुकहरुका नियामक निकायहरुले स्वीकृति प्रदान गरी सेवा प्रदान गरिरहेका छन्।

Source: https://swasthyakhabar.com/story/29215#.XYCvIP-lQ4E.twitter